काठमाडौं । कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि रिट निवेदनमा आज फैसला आउने भएको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएपछि हेर्दाहेर्दैमा राखेर बिहीबारको लागि फैसला सारिएको थियो ।
सर्वोच्च अदालतबाट आउने फैसलाले उद्धव थापा नेतृत्वको कोसी प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमको हस्ताक्षर समेत संलग्न गरि उद्धव थापा नेतृत्वको सरकार गठन भएपछि निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
सोमबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त रिट निवेदनमाथिको सुनुवाइका लागि पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो । यसअघि सर्वोचचले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।