images

विश्वकप छनोटका लागि दुई नयाँ खेलाडीसहित नेपाली फुटबल टोलीको घोषणा, नवयुग टिममा परेनन्

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप छनोटको प्रारम्भिक चरणको खेलका लागि २३ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

नेपालले प्ररम्भिक चरणको पहिलो लेग भोलि बिहीबार दशरथ रंगशालामा लाओसविरुद्ध खेल्दै छ । यो खेल बेलुकी साढे ५ बजे सुरु हुने छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

यो सँगै हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलो पटक राष्ट्रिय टोलीमा प्रवेश गरेका छन् ।

बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो । गोलकिपर अनिल देउला र डिफेण्डर छिरिङ लामा भने टिममा अटाएनन् ।

छिरिङ यसअघि म्यानमार विरुद्धको मेत्रीपूर्ण खेल खेल्ने टिममा थिए । यस्तै म्यानमार विरुद्ध टिममा रहेका फरवार्ड नवयुग श्रेष्ठ पनि यसपटक टिममा छैनन् ।

होम एण्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओससँग दोस्रो लेग असोज ३० गते उसकै घरेलु मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छ ।

नेपाली टीम

गोलकिपर : किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ

मिडफिल्डर : एरिक विष्ट, सुदिप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छुन्जु र मनिष डाँगी

फरवार्ड : अन्जन विष्ट, आयुष घलान, जिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट ।