images

सरकारी सुविधा नलिइ व्यक्तिगत खर्चबाट जाजरकोट जाँदै सांसदहरूको टोली

काठमाडौं । संघीय सांसदहरुको टोली भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा जाने भएको छ ।

भूकम्प प्रभावित जिल्लामा भइरहेको राहत, उद्धार र उपचारको अवस्थाबारे बुझ्न प्रतिनिधि सभाका सदस्यहरुको एक टोली बुधबार जाजरकोट र पश्चिम रुकुम जाने तय भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा नेतृत्वको टोलीमा ९ सदस्यीय टोली जाजरकोट र रुकुम जाने छन् ।

सभामुख देवराज घिमिरेको निर्देशनलगत्तै सभापति खतिवडाले ९ सदस्यीय टोली जाजरकोट र पश्चिम रुकुमको स्थलगत अनुगमनमा जाने निर्णय गरेका हुन् ।

सभामुख घिमिरेले राज्यकोषबाट भ्रमण भत्तालगायतका अतिरिक्त सेवा सुविधासमेत नलिई अनुगमनमा जान निर्देशन दिएका थिए ।

समिति सभापति खतिवडाले अनुगमन टोली सर्वपक्षीय हुने बताएका छन् । उनका अनुसार अनुगमन टोलीमा समिति सभापति खतिवडासँगै सांसदहरु गगन थापा, विश्वप्रकाश शर्मा, हृदयराम थानी, कृष्णगोपाल श्रेष्ठ, रवि लामिछाने, बुद्धिमान तामाङ, सर्वेन्द्रनाथ शुक्ल, चित्रबहादुर केसीलगायत छन् ।

सभापति खतिवडाका अनुसार जहाज तथा यातायात खर्च व्यक्तिगत तवरबाटै गरेर टोली नीरिक्षणमा जान लागेको हो ।