ग्यालेक्सी मिडिया ग्रुप प्रा. लि.
सूचना विभागमा दर्ता नं. : .../२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-०१-५९१७०९९
Admin: info@space4ktv.com

२ हात १ खुट्टा गुमाएका कृष्णले अमेरिका र हङकङका मनकारीबाट यसरी पाए १ करोड १५ लाख

२ हात १ खुट्टा गुमाएका कृष्णले अमेरिका र हङकङका मनकारीबाट यसरी पाए १ करोड १५ लाख

स्पेस संवाददाता

काठमाडौं । मानवताको न कुनै जात हुन्छ, नत धर्म। मानवताको न कुनै राष्ट्रियता हुन्छ, नत सीमा रेखा नै। उपकारी मनहरूका लागि नत कोही आफ्नो हुन्छ, नत पराई। हरेक सीमा नाघेर, अनि, जात धर्म र राष्ट्रियताको पर्खालभन्दा माथि चढ्ने गुणीहरू विरलै भेटिन्छन्।

अमेरिकाको वासिङ्टन राज्यस्थित सियाटलमा बस्ने इन्द्र ओली एक त्यस्तै उदाहरण हुन्। आफूले जीवनमा कहिले पनि नभेटेका र नचिनेका नेपालका कृष्ण ओलीकाका लागि इन्द्रले अमेरिकामा झन्डै ८५ लाख नेपाली रुपैयाँ सङ्कलन गरेका छन्। सहयोग पाउने कृष्ण र सहयोग जुटाउने इन्द्रको थर एउटै हुनु संयोग मात्र हो।

त्यसो त इन्द्र र कृष्णको राष्ट्रियता समेत एक होइन। भुटानीमूलका नेपाली हुन् इन्द्र ओली। रुकुमको सानोभेरी गाउँपालिकामा जन्मिएका हुन् कृष्ण। गएको जेठ महिनामा कृष्णलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लाग्यो, जसका कारण उनले सधैँका लागि दुवै हात र एउटा खुट्टा गुमाउनु पर्‍यो। उमेरले जम्मा २१ लागेका कृष्णको पीडा सामाजिक सञ्जालमा छताछुल्ल भयो। त्यही पीडालाई इन्टरनेटमार्फत अमेरिकामा बस्ने इन्द्रले पनि महसुस गरे, अनि सुरु भयो कृष्णका लागि सहयोग जुटाऊ अभियान।

‘कृष्णमाथि बनेको भिडियो हेरेर आँखामा आँसु थामिएन,’ पहिलो पटक कृष्णका बारेमा थाह पाएपछिको आफ्नो वेदना सुनाउँदै इन्द्रले सेतोपाटी सँग भने, ‘आफ्नै खल्ती बाट ५-१० हजार डलर सहयोग गर्छु भन्ने थियो तर सहयोग धेरै आवश्यक छ भन्ने बुझेर परिवार, साथीभाइलाई सहयोगका लागि गुहारेँ।’

भुटानको चिरांगमा जन्मिएका इन्द्र ४ वर्षको उमेरमा नेपाल गएका हुन्। जीवनका १८ उर्वर वर्षहरू नेपालमा बिताउँदा पनि नेपालले इन्द्रलगायत दशौँ हजार भुटानी नेपालीलाई स्वीकारेन। तर पनि, त्यही ‘भुटानी नेपाली’ को परिचय बोकेर इन्द्र विगत १० वर्षदेखि अमेरिकामा बसिरहेका छन्।

दाङ, तुलसीपुरस्थि विद्युत प्राविधिक पदमा कार्यरत कृष्णले विद्युत लाइन बिस्तार गर्ने क्रममा आफ्ना दुवै हात र खुट्टा गुमाएको कारुणिक कथा सुनेर सहयोगको झोली ‘गो फण्ड’ मार्फत फैलाईरहदा इन्द्रले सोचेका पनि थिएनन् कि यति ठूलो मात्रामा सहयोग जुट्छ।

सुरुवातमा उनले आफ्ना नजिकका परिवार, साथीभाइ र सहयोगीलाई सहयोगका लागि आग्रह गरे। इन्द्रको अनुरोध यसरी फैलियो कि अमेरिका मात्र नभएर अस्ट्रेलिया, क्यानडा, न्युजिल्याण्डलगायत अन्य मुलुकबाट पनि सहयोग गर्नेहरू निक्लिए।

सुरुमा ५० हजार अमेरिकी डलर लक्ष्य राखेर सुरु गरिएको यो अभियानलाई प्राप्त सहयोगले हौसिएका इन्द्रले लक्ष्य बढाएर ७५ हजार पुर्‍याए। अमेरिका भित्र र बाहिरका नेपाली र विदेशीहरूले इन्द्रको यो प्रयासमा सहयोग गरे। ‘तर, सबैभन्दा ठूलो आर्थिक सहयोग अमेरिकामा रहेका भुटानी नेपाली समुदायको छ,’ कुरो प्रष्ट्र पार्दै इन्द्रले जानकारी दिए।

लक्ष्य पुरा भई सकेपछि इन्द्रले सुरु गरेको ‘सहयोग अभियान’ तिन दिनअघि औपचारिक रूपमा बन्द गरिएको छ। ‘फेसबुक लाइभ’ मार्फत सहयोग अभियान बन्द गरिएको जानकारी गराउँदै कृष्ण ओलीका लागि ७५ हजार ७ सय चौरानब्बे अमेरिकी डलर सङ्कलन भएको घोषणा इन्द्र र उनको सहयोगी समूहले गर्‍यो। ‘गो-फण्ड’ को शुल्क काटेर सम्पूर्ण रकम केही सातामा नै कृष्ण र उनकी पत्नी रूपालाई सार्वजनिक रूपमा हस्तान्तरण गरिने इन्द्रले बताए।

देश- विदेशबाट सहयोग पाइरहेका कृष्ण ओलीले अमेरिकाका इन्द्रको प्रयास मार्फत ठूलो रकम सङ्कलन भएकोमा अत्यन्त कृतज्ञ हुँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिए। सेतोपाटीको फोन सम्पर्कमा आएका कृष्णले यो रकमले जर्मनीमा हात र खुट्टाको उपचार गर्ने बताए। ‘१ करोड जति लाग्छ भनेको छ, जर्मनीमा गएर उपचार गर्ने योजना छ,’ कृष्णले फोनमा भने।

नेपालको विकट रुकुममा जन्मिएका कृष्ण र छिमेकी मुलुक भुटानमा जन्मिएका इन्द्र बिच कुनै रगतको नाता छैन, छ त केवल मानवताको नाता। सात समुन्द्र पारी कृष्णले भोगेको पीडा अमेरिकामा महसुस गर्ने इन्द्रलाई उनको नयाँ र पुरानो राष्ट्रियताले छेकेन। ठूलो मात्रामा सहयोग जुटाउन इन्द्रले आफ्नै खल्तीको पनि धेरै खर्च गर्नु परेन।

तर पनि एक जना व्यक्तिको पहलमा सुरु भएको अभियानले ठूलो आकार लियो र दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओलीलाई एक नयाँ जीवन दिने अभियानमा सहयोगी बन्यो। सायद, नेपालका धेरै ‘कृष्णहरू’ लाई सहयोग गर्ने ‘इन्द्रहरू’ को खाँचो विदेशका नेपाली समुदायलाई छ कि?