images

४८ घन्टा रुखमा चढेर १२ जना गाउँलेले यसरी ज्यान जाेगाए

काठमाडाै, ३१ साउन । तिन दिनदेखि राप्ती नदीको बीच टापुमा फसेका १२ जनाको सोमबार दिउँसो डुंगाको सहायताले उद्धार गरिएको छ । हेलिकप्टरले उद्धार गर्न नसकेपछि राप्ती–सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको नेतृत्वमा गएको टोलीले बाढीमा फसेका १२ जनाको सकुशल उद्धार गरिएको हो ।

बाढीमा फसेका सबै राप्ती–सोनारी गाउँपालिका–७, बसन्ताका भएको वडा अध्यक्ष थारुले बताए । उनीहरु गाई, भैँसी लिएर शुक्रबार गएको बेला फत्तेपुरको टापुमा फसेका थिए । अकस्मात बाढी आएपछि भाग्न नसकेको सोमबार उद्धार गरिएका निव्रु पासीले बताए ।

उद्धारका लागि हेलिकप्टर मार्फत नेपाली सेनाले पटक–पटक प्रयास गरेपनि बस्ने ठाउँ नपाएपछि उद्धार नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेक वहादुर तामाङ्गले बताए । उनले वडा अध्यक्ष, प्रहरी, स्थानीय र माझीको टोलीले डुंगामार्फत सकुशल उद्धार गरेको बताए । ‘धेरै प्रयासपछि सोमवार दिउँसो करिव १ वजे फसेका सवैको उद्धार गरिएको छ,’ उनले भने ।

अब बाँकेमा कोहि पनि बाढीमा नफसेको बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले बताए । उनले फसेकाहरुको खोजी भइरहेको र हालसम्म फसेको जानकारी कतैबाट नआएको बताए । ‘उद्धार र राहत वितरण कार्य जारी छ,’ उनले भने ।

वडा अध्यक्षको पहलमा उद्धार भएकाहरुमा निव्रु पासी, अल्लु पासी, भगत पासी, गोपाल अहिर, वर्कौ पासी, सुम्रन पासी, लछुराम अहिर, जलेश्वर अहिर र ओमकार अहिर रहेको वडा अध्यक्ष थारुले जानकारी दिए । उनले नदीमा पानीको पहाव धेरै भएकोले जोखिम मोलेर भएपनि उद्धार गरिएको बताए । ‘माझीले मात्र हिम्मत नगरेपछि डुंगामा बसेर म आफै उद्धारमा खटिएँ, ठूलै जोखिम मोलेर भए पनि उद्धार गर्न सफल भयौँ,’ वडा अध्यक्ष थारुले भने ।

शुक्रबार दिउँसो गाई, भैँसी लिएर नदीपारी गएका थियौँ । हाम्रो गाई गोठ त्यता पनि छ । खेतिपाती सकिएकोले हामी त्यो दिन त्यतै बस्ने गरी गाई भैँसी लिएर गएका थियौँ । घर भएको ठाउँमा चरिचरणको व्यवस्था नभएकोले हामी १२ जना नदीको बीचमा गोठ बनाएका छौँ ।

रातको करिव एक–दुई बजेको थियो होला, खाटको तलबाट पानी बग्न थालेपछि मात्र बाढी आएको थाहा पायौँ । छिनभरमै चारैतिर पानी नै पानी भयो । पशुचौपाया छोडेर जान मन लागेन । पशुचौपायाको मायाले झनैले ज्यान गएन ।

अध्याँरो रात भएकोले हामी सुरक्षित ठाउँमा जान सक्ने अवस्था थिएन । पानी धेरै परेको छैन, बाढी नआउला भन्ने हामीलाई लागेको थियो । तर, हाम्रो सोँचाई भन्दा धेरै फरक भयो । जति बिहान हुँदै गयो त्यति नै नदीमा बाढी बढ्न थालेपछि ज्यान जोगाउन नजिकैका सिमल र सिसमका रुखमा चढ्यौँ ।

हामीले हेर्दाहेर्दै भएभरका सबै पशुचौपाया बाढीले बगायो । हामी चढेको रुखलाई बाढीले ढाल्ने प्रयास गरेपनि भगवानको कृपाले हामी चढेको रुखलाई बाढीले असर गर्न सकेन । अहिलेसम्म मैले यति ठूलो बाढी देखेको थिएन । बाँच्ने आशा मरिसकेको थियो ।

रुखमा चढेको बेला हामीले घरमा फोन सम्पर्क गर्ने प्रयास गरेका थियाैं, तर त्यतिबेला मोवाइलको नेटवर्क नभएकोले घरमा सम्पर्क गर्ने प्रयास सफल हुन सकेन । फोन गर्ने हामीले धेरै प्रयास ग¥यौँ । तर, फोनले काम नगरेपछि हामी थाक्यौँ ।

हामीलाई एकातिर आफ्नो ज्यान जोगाउने चिन्ता थियो । अर्कोतर्फ पशुचौपाया नदीले बगाएको चिन्ता थियो । भने, अर्कोतर्फ गाउँघरमा बाढी पसेर परिवारका सदस्यको अवस्था के बनायो होला भन्ने पिरलो हामीमा थियो ।

शनिबार दिउँसो २ बजेतिर फोन लागेपछि हामीले परिवारका सदस्यलाई आफ्नो अवस्थाको जानकारी गरायौँ र उद्धारका लागि पहल गर्न अनुरोध गर्यौँ । शनिबार रातिदेखि मोवाइल स्वीचअफ भएपछि गाउँघरसँगको हाम्रो सम्पर्क विच्छेद भयो ।

हामीले शनिबार बिहानदेखि केहि खान पाएनौँ । ज्यान जोगाउन राप्ती नदीको धमिलो पानी खायौँ । एक दुई रात एक दिन रुखमै बितायौँ । हामी चढेको रुखलाई बाढीले बगाउने जस्तो गरेपछि हामीले भगवानलाई पुकारथ्यौँ । भगवानकै कारण आज हामी बाढीबाटा बाचेका छौँ । भगवानले नहेरेको भए हामी आज हुने थिएनौँ । हामीले पुनर्जन्म पाएका छौँ ।

शनिबार दिउँसोदेखि नै उद्धारको पर्खाईमा थियौँ हामी । दिनभर उद्धार टोली आउने आशामा बस्यौँ, तर कोही आएन । आइतबार त पक्कै आउँछन् भन्ने थियो, तैपनि बाढीका कारण कोही त्यहाँ पुग्न सकेन । नेपाली सेनाको हेलिकप्टर आकाशमा उडेको देख्दा हाम्रो उद्धार गर्न आउन लागेको जस्तो लाग्थ्यो, तर उक्त हेलिकप्टर हामी कहाँ नआएर अन्तै जान्थ्यो । हामी भएको ठाउँतिर आएको हेलिकप्टर अन्यत्रै गएपछि निराश हुन्थ्यौँ ।

राप्ती नदीमा बाढीको भेल उर्लिरहेको बेला आकाशबाट पानी परेपछि हामीलाई थप सास्ती भयो । बाढी बढिरहेको थियो, उत्तरतर्फ कालो बादलसहित पानी परेपछि हामीलाई थप पीडा हुने गथ्र्यो । हामीले पानी नपार्न भगवानसँग पुकारा गथ्र्यौँ ।

शनिबार, आइतबार पनि उद्धार टोली नआएपछि सोमबार पक्कै आउँछ भन्नेमा हामी ढुक्क थियौँ । सोमबार बिहानैदेखि हामी उद्धार टोलीको पर्खाईमा थियौँ । भगवान श्रीकृष्णको जन्मदिन परेकोले हाम्रो उद्धारमा भगवान्ले हात बढाउनु हुनेछ भन्ने पूर्ण विश्वासका साथ हामी उद्धारको पर्खाईमा थियौँ ।

बिहान करिव साढे १२ बजेको समयमा राप्ती–सोनारी गाउँपालिका–७ का वडा अध्यक्ष रामलखन थारुको टोली डुंगाको सहायताले हामी कहाँ पुग्यो । उहाँहरुलाई देखेपछि बाँच्ने आशा पलायो । हर्षको सीमा रहेन । उहाँहरुले हाम्रो लागि खाना र पानी लिएर आउनु भएको थियो । तर, हामीलाई खाना खान मन लागेन । पानी मात्र पिएर घर जाने भनौं । घर पुग्दा दिउँसोको २ बजेको थियो । भगवान्को आशिर्वादले मात्र हामी बाँच्न सफल भयौँ ।