images

११ कक्षामै कानूनको पढाई

काठमाडौँ, ११ साउन । संविधानले स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहलाई न्यायिक निकायका रुपमासमेत परिभाषित गरेको छ । स्थानीय तहको न्याय निरुपण गर्ने जिम्मेवारी संविधानले उपप्रमुख तथा उपाध्यक्षलाई तोकेको छ ।

संविधानको धारा २१७ ले हरेक स्थानीय तहमा एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला जग्गा–जमिन, अंशबण्डा विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने अधिकार दिएको छ । न्यायिक समितिका रुपमा क्रियाशील रहने गाउँपालिका तथा नगरपालिकाका उपप्रमुखमा कानूनको विषयमा कम जानकारी हुँदा प्रभावकारी न्याय सम्पादन हुन नसकेको जनगुनासो आएको छ ।

सबै स्थानीय तहमा कम्तिमा पनि एक जना कानून अधिकृत खटाउनुपर्ने र अन्य समूहको तुलनामा निजामती सेवा प्रवेशका लागि न्याय सेवामा प्रतिस्पर्धा कम हुने र पदोन्नति छिटो हुने हुँदा युवा पंक्तिको अहिले कानून अध्ययनप्रति आकर्षण बढ्दै गएको छ । कानून तथा न्यायका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान हासिल गरी आफूलाई अद्यावधिक गराउन तथा थुप्रै राम्रा पेशा, व्यावसायको ढोका खोल्नसमेत कानूनी विषयको ज्ञान हुनु आवश्यक छ ।

हरेक विषयमा तर्क तथा कारणसहित नयाँ कोणबाट विश्लेषण गरी आफूलाई परिवर्तनको संवाहक शक्तिका रुपमा उभ्याउन, आफ्नो क्षमता विकास गर्ने आधार तयार गर्न, अधिकार तथा जिम्मेवारीप्रति सचेत नागरिक बन्नसमेत कानूनी ज्ञान अपरिहार्य छ । पछिल्ला समय कानून अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ ।

कानूनको जानकारीको अभाव महशुस हुन नदिन, योग्य तथा सक्षम नागरिक तयार पार्न तथा सबैलाई न्यायको पहुँचमा सहजै पु¥याउने उद्देश्यले बानेश्वरस्थित नेपाल विद्या पीठले सिधैँ कक्षा ११ र १२ मा कानून विषयको अध्ययन गराउने भएको छ । अन्य विषयमा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीले कानूनमा एलएलबी गर्न पाँच वर्षे पाठय्क्रम पढ्नुपर्छ भने स्नातक उत्तीर्ण गरेका विद्यार्थीले तीन वर्ष पढ्नुपर्छ ।

विसं २०५८ मा प्रवीणता प्रमाणपत्र तह विस्थापनपछि काठमाडौँको बानेश्वरस्थित सो कलेजले ११ र १२ मै कानून विषय पढाउने तयारी थालेको हो । कलेजमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पवनकुमार ओझा, वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, प्राडा नृसिंह खत्री, डा दीनमणि पोखरेललगायत पूर्वन्यायाधीश, नेपाल बारका पूर्वपदाधिकारी, वरिष्ठ अधिवक्ता तथा कानूनी र शैक्षिक क्षेत्रका ज्ञाताले अध्यापन गराउने अध्यक्ष कृष्णहरि मैनालीले जानकारी दिए ।

राजनीतिज्ञ, प्रशासकलगायत विविध क्षेत्रका विज्ञसँगको लामो छलफलका क्रममा कानून विषयको बढ्दो आवश्यकतालाई मध्यननजर गर्दै कानून पठनपाठन गर्न खोजिएको उनको भनाइ थियो । “मुलुक सङ्घीयतामा प्रवेशसँगै स्थानीय तहका रुपमा रहेका गाउँपालिका तथा न्यायपालिकाले पनि न्याय सम्पादन गर्नुपर्ने अवस्था छ”, अध्यक्ष मैनालीले भने, “सबै क्षेत्रमा कानून बुझ्नुपर्ने अपरिहार्यता जस्तै भएकाले पनि ११ बाट नै पढाई शुरु गर्न लागेका हौँ ।”

संवैधानिक कानूनका ज्ञाता डा भीमार्जुन आचार्य संविधानसभाबाट संविधान निर्माण गर्दाका क्रममा संविधान र कानूनका विषयमा व्यापक चर्चा भएकाले कानूनका विषयमा सचेतना बढेको बताउछन् । कानूनप्रति आमयुवाको आकर्षण बढ्नु सुखद् भए पनि गुणस्तरमा ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन । “प्रतिष्ठित संस्थामा अवसर प्राप्ति, सरकारी वकील तथा न्याय क्षेत्रमा सेवा प्रवेशका लागि पनि कानूनप्रति आकर्षण बढेको हुनसक्छ”, उनले भने ।