images

१० लाख अमेरिकी डलर मूल्य तोकिएका हम्जा मारिए

इस्लामिक संगठन अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा विन लादेनको मृत्यु भएको अमेरिकी गुप्तचर अधिकारीहरूले जनाएको बीबीसीले बताएको छ । उनी मारिएको मिति र स्थानबारेमा भने प्रष्ट नपारिएको भए पनि उनको मृत्यु भएको दावी गरिएको बताइएको छ ।

झन्डै ३० वर्ष उमेर भएको ठानिएका ओसामा बिन लादेनका छोरा हम्जा अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडिओ र अडिओ रिपोर्ट सार्वजनिक गरेका थिए। उनले आफ्ना बाबु ओसामाको सन् २०११ को मे महिनामा पाकिस्तानमा गरिएको हत्याको बदला लिन आग्रह गर्दै आएका थिए ।

यहि फेब्रुअरी महिनामा अमेरिकी सरकारले हम्जा बसेको ठाउँबारे जानकारी दिनेलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

त्यसलगत्तै साउदी अरेबियाले गत मार्चमा हम्जाको नागरिकता खोसेको थियो।

उनलाई अल-कायदाभित्र आफ्ना पिताको उत्तराधिकारीको रूपमा उदाइरहेको अनुमान गरिएको थियो । सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादेनको निवासमा छापा मार्दा बरामद गरिएका दस्ताबेजहरूले हम्जालाई अल-कायदाको नेतृत्व सम्हाल्नेगरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ।

अल कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर ध्वस्त गरी सयौको अमेरीकी नागरीकको ज्यान लिने गरी भएको भीषण आक्रमण हमलामा संलग्न समूह हो।