images

‘एक घर, एक उत्पादन’मा स्थानीय तहको जोड

तनहुँ, १३ भदौ । शुक्लागण्डकी नगरपालिका–१२ ले स्थानीयलाई स्वरोजगार बनाउन ‘एक घर, एक उत्पादन’लाई प्राथामिकता दिएको छ । वडाले एक घर, एक उत्पादनअन्तर्गत मौरीपालन र टनेल खेतीलाई प्राथमिकता दिएको हो ।

सो वडाले एक घर, एक उत्पादन कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीयवासीलाई स्वरोजगारतर्फ उन्मुख बनाउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । मौरीपालक कृषकलाई ५० प्रतिशत अनुदानमा मौरीका घार उपलब्ध गराउन लागिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

“एक मौरी घार बराबर दुई चिउरीका बिरुवा रोप्नुपर्छ”, उनले भने, “एक वटा मौरीको घार बराबर मौरीपालनको लागि वडा कार्यालयले आवश्यक पर्ने सामग्री निःशुल्क उपलब्ध गराउने छ ।” एक घर, एक टनेल खेतीतर्फ ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल उपलब्ध गराइने छ । एक प्लाष्टिक टनेल बराबर आवश्यक मल्चिङ प्लाष्टिक र असिना प्रतिरोधात्मक नेट जाली निःशुल्करुपमा वडाले प्रदान गर्ने वडाध्यक्ष गुरुङले बताए ।

वडा कार्यालयले पाँच माउ बाख्रा पाल्ने कृषकलाई ३० हजार, दश माउ बाख्रा पाल्ने कृषकलाई ५० हजार र १५ माउ बाख्रा पाल्ने कृषकलाई एक लाख अनुदान वितरण गर्ने भएको छ । बाख्रापालन किसानका हकमा वडा कार्यालयमा सूचीकृत भएका, व्यावसायिक बाख्रापालनसम्बन्धी तालीम लिई ज्ञान आर्जन गरेको, मापदण्डअनुरुप सुधारिएको खोर निर्माण गरेको र आवश्यक मात्रामा घाँसखेती गरेको हुनुपर्ने प्रावधान छ ।

उक्त शर्त पूरा गरेका बाख्रापालक कृषकलाई माउ बाख्राको सङ्ख्याअनुसार अनुदानको व्यवस्था, बाख्रा बीमाको व्यवस्था, उत्पादित बस्तुको बजारीकरण, लगानी आवश्यक परेमा ऋणको व्यवस्था, नियमित तालीम तथा अवलोकन भ्रमणको व्यवस्था गरिएको छ । त्यसैगरी व्यावसायिक कागती खेती गर्ने कृषकले तीन वर्षसम्म प्रतिबिरुवा १०० अनुदान प्राप्त गर्न सक्ने छन् । वडाध्यक्ष गुरुका अनुसार त्यसका लागि कम्तीमा २५ बिरुवा लगाएको हुनुपर्नेछ ।