images

स्पेस फोरके टेलिभिजनको सम्पादकमा सरोज कोइराला नियुक्त

काठमाडौ । चर्चित समाचार प्रस्तोता सरोज कोइराला स्पेस फोर के टेलिभिजनको सम्पादकमा नियुक्त भएका छन् । झापा घर भएका कोइराला लामो समयदेखि नेपाली टेलिभिजनमा काम गर्दै आएका छन् ।

कोइरालालाई आइतबार स्पेस फोर के टेलिभिजनका अध्यक्ष डा. दिनेश कुमार शाहीले स्वागत गरेका हुन् । एभिन्यू, न्यूज २४, हिमालय र प्राइम टेलिभिजनमा काम गरिसकेका कोइराला गीत लेखन तथा गायनमा पनि सम्लग्न छन् । टेलिभिजनले आइतबार सम्पादक कोइरालासहित पत्रकारहरुको ठूलो टिमलाई टेलिभिजनमा स्वागत गरेको छ । विभिन्न मिडियामा लामो अनुभव हासिल गरेका टेलिभिजनकर्मीहरुलाई भित्र्याएको यस टेलिभिजनले छिट्टै आफ्नो प्रशारण यात्रा आरम्भ गर्ने तयारी गरेको छ ।

काठमाडौंको मध्यबानेश्वरमा रहेको स्पेस फोरके टेलिभिजन अत्याधुनिक प्रविधि र ठूलो लगानीका साथ सुरु गरिएको छ । यस टेलिभिजनले नेपालको टेलिभिजन पत्रकारितामा नयाँ आयाम थप्ने लक्ष्य लिएको छ । टेलिभिजनले राष्ट्रिय र अन्तराष्ट्रिय मिडियामा लामो समय काम गरेका दक्ष टिम र अनुसन्धानकर्ताहरुको एक टोली निर्माण गरिरहेको जनाएको छ । हाल टेलिभिजनको अनुसन्धान टोलीले नेपाली टेलिभिजनको प्रवृति, बजार, सबै मिडियाबाट प्रकाशित प्रशारित विषयवस्तुहरुको गहिरो अध्ययन गरिरहेको जनाइएको छ । साथै नेपालको समग्र विज्ञापन बजारका बारेमा पनि अनुसन्धान गरिरहेको जनाएको छ । टेलिभिजनको एक टोलीले टेलिभिजनका लागि विभिन्न विषयवस्तुहरुको अध्ययन, अनुसन्धान गर्नुका साथै विभिन्न तथ्यहरु संकलन तथा विश्लेषण गरेर हाल व्याकअप तयार गरिरहेको पनि बताइएको छ । टेलिभिजनले कार्यरत सबै जनशक्तिका लागि सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने जनाएको छ ।

टेलिभिजनको सन्चालकमा जापान, अस्ट्रेलिया, कोरिया तथा युरोपका विभिन्न कम्पनीहरुको व्यवस्थापनमा नेतृत्व गरिरहेका र नेपालमा केही ठूला उद्योग तथा ठूला कम्पनी सन्चालन गरिरहेकाहरु रहेको बताइएको छ । पूर्ण रुपमा व्यवसायिक अभ्यास गर्ने जनाएको स्पेस फोर के टेलिभिजनले सबै नेपालको भौगोलिक, सांस्कृतिक, धार्मिक जातीय, लिंगीय विविधता तथा सबै नागरिकका विचारलाई समान रुपमा स्थान दिने पनि जनाएको छ । टेलिभिजनका अध्यक्ष डा. शाहीले भने, “स्पेस फोर के टेलिभिजन तथ्यमा उभिएर सत्य खोज्ने, सत्य खोज्नका लागि प्रश्नहरु केन्द्रित गर्ने र बढिभन्दा बढि नागरिकको वास्तविक आवाज बन्नेछ ।”

अध्यक्ष शाहीले टेलिभिजनको बलियो न्यूज रुम र अनुसन्धानकर्ताहरुको टोली गहिरो अनुसन्धानबाट बढिभन्दा बढी सूचना सामग्री प्रदान गरी नागरिकलाई आफ्नो विचार मजबुत बनाउन प्रयत्नशील रहने बताए । डा. शाहीले भने, “हामी उच्च प्रविधि र दक्ष जनशक्तिको सहयोगमा राज्यमा समावेशिता, सहभागिता र सहअस्तित्वलाई बढावा दिन प्रयत्नशील छौ । संसारभरका ताजा सूचना, सन्देश र विचार निरन्तर दर्शकहरु सामु प्रस्तुत गर्दै आइरहेका छौं । हामीले भ्रष्टाचार र भय मुक्त समाज निर्माण गर्न निर्भिक पत्रकारिताको अभ्यास गरिरहेका छौं । देश र नागरिकको हितलाई केन्द्रमा राखेर राज्यका सबै अंगहरुलाई जिम्मेवार, जवाफदेही बनाउने र नागरिकलाई आफ्नो कर्तव्य निर्वाह गर्न सघाउने हाम्रो उद्देश्य हो ।”