images

उदयपुरको एक बस्तीमा कोशी नदीको भंगालो पस्यो, भंगालो रोक्ने तीनसातादेखिको प्रयास असफल

काठमाडौं, १७ साउन । उदयपुरको एक बस्तीमा कोशी नदीको भंगालो पसेको छ । बुधवार बिहान ४ बजेदेखि कोशी नदीको एउटा भंगालो उदयपुरको बेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टप्पु(चिलिया बस्ती पस्न थालेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार तीन साताअघिदेखि नै भंगालोलाई गाउँमा पस्न नदिन रोक्ने प्रयास गरिएको थियो । तर, जति प्रयास गरे पनि बुधवार बिहान ४ बजेदेखि सिसौली टप्पु चिलिया बस्तीमा पसेको हो ।

कोशी नदी बस्तीमा पसेपछि त्यस क्षेत्रमा रहेका एक हजार बढी घरपरिवार प्रभावित हुने प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणले नदीको पानी अझै बढ्न सक्ने भएकोले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर, बेलका नगरपालिकाको टोली उद्धारमा खटिएको छ । उनीहरूले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा लैजान सहयोग गरेका छन्।