images

४८ वटै दलले समानुपातिक सूची गल्ती गरेः निर्वाचन आयोग

काठमाडौं, ११ असोज । प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि ४८ वटै दलले पेस गरेको बन्दसूची नमिलेको निर्वाचन आयोगले जनाएको छ ।
सबै राजनीतिक दलले पेस गरेको बन्दसूची कानूनी व्यवस्थाअनुसार नमिलेको भन्दै आयोगले दलहरुलाई कानूनी व्यवस्थाअनुसार सच्याउन पत्राचार गरेको छ ।

यस्तै, सात वटै प्रदेशमा २३७ दलले बन्दसूची पेस गरेकोमा २१३ दलले पेस गरेको बन्दसूची कानूनअनुसार नमिलेकाले पत्राचार गरिएको समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता तथा आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश एकमा ३३ दल, मधेश प्रदेशमा ३४ दल, वागमती प्रदेशमा ३७ दल, गण्डकी प्रदेशका २३ दल, लुम्बिनी प्रदेशका ३० दल, कर्णाली प्रदेशका २७ दल र सुदूरपश्चिम प्रदेशका २९ दलले पेस गरेको बन्दसूची नमिलेको हो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यतालिकाअनुसार असोज १० गते अर्थात आजदेखि असोज १६ गतेसम्म राजनीतिक दलले उम्मेदवारको बन्दसूची संशोधन गरेर पेस गर्ने कार्यतालिका छ ।