images

माओवादी केन्द्रबाट मानुषी यमी काठमाडौं ७ मा उम्मेदवार

काठमाडौँ, २० असोज । नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डा. बाबुराम भट्टराईकी छोरी तथा नेसापाकी केन्द्रीय सदस्य रहेकी मानुषीलाई माओवादी केन्द्रले उम्मेदवार बनाउने भएको हो ।

काठमाडौ ७ गठबन्धनमा माओवादी केन्द्रको भागमा परेको थियो । स्रोतका अनुसार बाबुराम भट्टराईले नै प्रचण्डसँग छलफल गरेर उक्त क्षेत्रबाट मानुषीका लागि सुरक्षित गरेका हुन । उता बाबुराम भट्टराई आफै भने गोरखाबाट उम्मेदवारी नबन्ने भएका छन् । बाबुराम उठ्ने गरेको गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उठने भएका छन् । भट्टराई आफू कहाँबाट उम्मेदवार बन्छन् अहिलेसम्म प्रस्ट भएको छैन। माओवादीको चुनाव चिन्ह लिएर यसपटक नेसपा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव लड्दैछ।

२०७४ को निर्वाचनमा काठमाडौं– ७ मा नेकपा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। उनी १८१०२ मत ल्याएर विजयी भएका थिए। उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रमबहादुर थापाले १००७९ मत ल्याएका थिए। यस पटक काठमाडौं ७ मा एमालेले रामवीरलाई टिकट दिएको छैन। यहाँ यस पटक एमालेले जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठलाई सघाउँदैछ।

माओवादीले आफ्नो भागमा परेको सिटमा शनिबार उम्मेदवार चयन गर्ने बताइएको छ ।