images

देशभर ३६ सय बढीले गराए उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । प्रतिनिधिसभा र प्रदेशसभा गरी देशभर करिव ३६ सय जनाले उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबार साँझसम्म ३६ सयले उम्मेदवारी दर्ता गरेको जानकारी दिएको हो ।  

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभामा १६ सय र सातवटै प्रदेशमा २ हजार गरी ३६ सय जनाको उम्मेदवारी आयोगको प्रणालीमा इन्ट्री भएको छ । यो आइतबार साँझसम्म निर्वाचन आयोगको सिस्टममा इन्ट्री भएको तथ्यांकमा आधारित हो । 

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्माले अहिलेसम्म त्यति इन्ट्री भएको जानकारी दिए । उनले कतिपयको इन्ट्री हुने क्रममा रहेको र कतिपय बल्ल निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेको बताए । उनले यो संख्या अझै बढ्ने बताए । शर्माले दुर्गमका केही ठाँउमा सञ्चार सम्पर्क हुन कठिनाइ भएकाले थप विवरणहरु आउने क्रममा छ ।

आयोगले अहिले ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा प्रवेश गरेका उम्मेदवार र उनका प्रतिनिधिहरुलाई मनोनयन दर्ता गर्न दिने जनाएको छ । अब भने अरु व्यक्ति मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयमा जान पाउने छैनन् ।