images

नवौँ राष्ट्रिय खेलकुदको आर्मी च्याम्पियन, एपीएफ दोस्रो र पुलिस तेस्रो

पोखरा । त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा सम्पन्न राष्ट्रिय खेलकुदमा लगातार तेस्रो पटक च्याम्पियन बनेको छ।

पोखरामा बिहीबार सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३७१ पदक जित्दै आर्मी तालिकाको शीर्ष स्थानमा रहेको हो।

यससँगै आर्मी टिम च्याम्पियन बनेको छ। आर्मी यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार च्याम्पियन बनेको थियो।

नवौँ खेलकुदमा आर्मीले १ सय ७२ स्वर्ण, ११० रजत र ८९ कास्य पदक जितेको छ।

च्याम्पियन बनेसँगै आर्मीले च्याम्पियन्स रनिङ ट्रफी जित्न सफल भएको हो। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यो संस्करणदेखि च्याम्पियन ट्रफी दिन सुरु गरेको हो।

लगातार ३ पटक राष्ट्रिय च्याम्पियन बन्न सकेमा विजयी टोलीले स्थायी रुपमा ट्रफी राख्न पाउनेछ।

दोस्रो स्थानमा रहेको एपीएफले कुल २१९ पदक जित्न सफल भएको छ। एपीएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य पदक जितेको छ।

तेस्रो स्थानमा रहेको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, त्यतिनै रजत र ७३ कास्य गरि कुल १९५ पदक जित्न सफल भएको छ।

आयोजक गण्डकी प्रदेशले भने १२० पदक जित्दै चौथौँ स्थानमा रहेको छ। गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य पदक हात पारेको हो। सहभागी प्रदेशमा गण्डकी प्रदेशले सर्वाधिक पदक जित्न सफल भएको हो।

बागमती प्रदेश २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरि कुल १४५ पदक जित्दै पाँचौ स्थानमा रहेको छ। छैटौँ स्थानमा रहेको प्रदेश १ ले १० स्वर्ण, २३ रजत र ५० कास्य पदक गरि कुल ८३ पदक आफ्नो नाममा गरेको छ।

सुदुरपश्चिम प्रदेशले १० स्वर्ण, १० रजत र ४३ कास्य गरि ६३ पदक जित्दै सातौँ स्थानमा रहँदा एनआरएनएले १० स्वर्ण, ९ रजत र ७ कास्य गरि २६ पदक जित्दै आठौँ स्थानमा छ।

एनआरएनएले आठौँ राष्ट्रिय खेलकुदबाट सहभागिता जनाउन सुरु गरेको थियो। नवौ स्थानमा रहेको लुम्बिनी प्रदेशले ६ स्वर्ण, २२ रजत र ४० कास्य गरि कुल ६८ पदक जितेको छ।

१० औँ स्थानमा रहेको मधेस प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरि ३९ पदक जितेको छ। २ स्वर्ण, ४ रजत र १२ कास्य गरि १८ पदक जितेको कर्णाली प्रदेश पुछारमा छ। कर्णाली प्रदेशले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको छ।