images

साफ यू–१७ फुटबल : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको अन्तिम खेलमा नेपालले आज मंगलबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपालले आयोजक टोलीको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल आज बंगलादेशलाई हराएर प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ ।

नेपालले अघिल्ला तीन खेलमा दुई हार र एक जित निकालेको छ । नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रसियासँग पराजित भएको थियो ।

नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपाल ३ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

बंगलादेशले भुटान र भारतलाई हराएको थियो । रसियासँग हार व्यहोरेको थियो । रसिया ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । भारत ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अंक विहीन भुटान पुछारमा रहेको छ ।

प्रतियोगिताको अन्तिम खेलमा मंगलबार नै रसिया र भारतबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।