images

प्रिमियर कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । घरेलु भूमिमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रिमियर कप खेल्ने २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो । एसियन क्रिकेट काउन्सिल(एसीसी) को आयोजनामा हुने प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन हुनेछ ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।

समूह ’बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल पुग्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ ।