images

राष्ट्र बैंकद्वारा वित्तीय साक्षरता मार्गदर्शन जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता मार्गदर्शन, २०७९ जारी गरेको छ ।

आमनागरिकमा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक गतिविधिलाई वित्तीय प्रणालीमा समावेश गर्न उक्त मार्गदर्शन जारी गरिएको हो ।

वित्तीय साक्षरता अभियान प्रवद्र्धन गर्न राष्ट्र बैंकले यसअघि बैंक तथा वित्तीय संस्थाका लागि ‘वित्तीय साक्षरता ढाँचा, २०७९’ जारी गरिसकेको छ । मार्गदर्शनले वित्तीय साक्षरताका लागि आवश्यक संस्थागत पूर्वाधार निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

लक्षित वर्ग केन्द्रित वित्तीय साक्षरता अध्ययन सामग्रीको प्रयोग सुनिश्चित गर्न र त्यसको अनुगमनका लागि आधार निर्माण गर्ने उद्देश्यले मार्गदर्शन ल्याइएको राष्ट्र बैंकले जनाएको छ । वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्दै जिम्मेवार वित्तीय आचरणको विकास गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने यसको उद्देश्य रहेको छ ।

वित्तीय ज्ञानको अभाव भएका व्यक्तिलाई औपचारिक प्रणालीमा आबद्ध गराउन बैंक तथा वित्तीय संस्थाको भूमिका रहनेगरी यो मार्गदर्शन तयार पारिएको छ । अब बैंक तथा वित्तीय संस्थाले वार्षिक कार्यक्रम तयार पारेरै वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।