images

नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिको उद्धार

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरूको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो ।

बालकल्याण समितिसहित सलाम बालक, प्रयास संस्था, साथी संस्था, चाइल्ड लाइन १०९८, रेल्वे अथोरिटी, आरपीएफ र जीआरपीको संयुक्त पहलमा गत २७ मार्चदेखि अप्रिल २ सम्म गरिएको संयुक्त उद्धार अभियानमा नेपाल, बंगलादेश र भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका झण्डै ४ सय बालबालिकाको उद्धार गरिएको अभियानमा लागेका उद्धारकर्मीहरूले बताएका छन् ।

नयाँ दिल्ली रेल्वे स्टेशनका विभिन्न प्लेटफर्महरू, रेल्वे स्टेशनका प्रवेश र निकासद्वारमा खटिएका उद्धारकर्मीहरूले बालबालिकाहरूको उद्धार गरेका हुन् ।

दिल्ली सरकार अन्तर्गत बाल कल्याण समितिका अध्यक्ष वरुण पाठकले ७ दिनसम्म चौबिसै घण्टा चलाइएको अभियानमा ७ नेपाली बालबालिकाहरूको उद्धार गरिएको बताए । उनले दिल्ली र अन्य राज्यहरूमा निरन्तर रुपमा नेपाली बालबालिकाहरूलाई विभिन्न प्रलोभलनमा दिल्ली पुर्‍याइने गरेको भन्दै आफूहरूले उद्धार गरेका बालबालिकाहरूलाई किन इण्डिया नामक संस्था र नेपाली राजदूतावासको समन्वयमा नेपाल पठाउने काम गरिरहेको पनि बताए । उनले नेपालको तराई क्षेत्र विशेष गरी रौतहटका बालबालिकाहरू धेरै दिल्ली पुग्ने गरेको बताए ।