images

शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध हो : रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरूलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरण सम्भव नरहेको दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरू नेपालबाहेक कुनै पनि देशमा नरहेको बताए ।

मिश्रले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने बताए ।

वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताए ।

उनले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरूसँग आग्रह गरे । उनले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताए । वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताए ।