images

पूर्व गोरखा सैनिक हरि बुढामगर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान

काठमाडौं । पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । आज उनी त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

शारीरिक अशक्त रहेका उनका दुवै खुट्टा छैनन् । उनी कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लागेका हुन् । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधार शिविर पुगेर ‘स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुन् ।

सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि उनले पाँच वर्षको पर्खाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीलाई खुसी दिने विश्वास व्यक्त गरे ।

उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो लागि सगरमाथा आरोहणको समय २ महिनाको हुने बताए ।

उनले भने, ‘पाँच वर्षको धेरै बाधा अड्चनपछि फाइनल्ली म सगरमाथातर्फ प्रस्थान गर्दैछु । शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई विश्वास गर्न धेरै सानातिना सगरमाथा चढ्नुपरेको छ । म धेरै खुसी छु, म मात्रै होइन, मजस्ता धेरै अशक्त व्यक्तिलाई सगरमाथा चढाउनु छ । हिमाल चढ्न चाहनेलाई हिमाल चढाउनुछ । मेरो आरोहण दुई महिनाको हुनेछ ।’

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन् । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरेका छन् ।

उनले २०१७ मा मेरा चुचुरो आरोहण गरेका थिए र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडामाथि ९दुवै अंगविच्छेदन० डबल एम्प्यूटी गर्ने बने । उनको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उनी सगरमाथाको आधारशिविरसम्म पुगिसकेका छन् ।