images

बर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनाढ्य, मस्क दोस्रो स्थानमा

एजेन्सी । बर्नार्ड आर्नो विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति बनेका छन् । फोर्ब्सको वार्षिक विश्व अर्बपति सूचीमा ट्विटर, टेस्ला तथा स्पेस एक्सका मालिक एलन मस्कलाई पछि पार्दै आर्नो विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिको पहिलो नम्बरमा आएका हुन् । फोर्ब्सको सूचीमा मस्क दोस्रो स्थानमा झरेका हुन् ।

फोर्ब्सका अनुसार आर्नोको सम्पत्ति २११ अर्ब अमेरिकी डलर छ । मस्कको सम्पत्ति भने १८० अर्ब अमेरिकी डलरमा झरेको छ ।

मस्कको हालको सम्पत्ति गत वर्षको तुलनामा ३९ अर्ब डलर कम भएको बताइएको छ । फोर्ब्सका अनुसार मस्कले ४४ अर्ब डलरमा ट्विटर खरिद गर्दा र टेस्लाको सेयर घट्दा उनको सम्पत्ति घटेको हो ।

मस्कलाई पछि पार्ने आर्नो भने फ्रान्सेली विलासी सामानको बिक्रेता एलभीएमएचका प्रमुख हुन् ।

यसैबीच भारतका मुकेश अम्बानी विश्व धनाढ्य सूचीको ९ औं स्थानमा उक्लिएका छन् । उनी फेसबुकका संस्थापक मार्क जुकरबर्गभन्दा पनि धनी भएका छन् ।

मुकेश अम्बानीको सम्पत्ति ८३ दशमलब ४ अर्ब डलर हो भने १६औँ स्थानका धनाढ्य जकरबर्गको सम्पत्ति ६४ दशमलव ४ अर्ब अमेरिकी डलर हो ।

उता नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी १६ सय ४७औँ नम्बरका अर्बपति हुन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति १ अर्ब ८० करोड डलर पुगेको छ ।

विश्वका शीर्ष १० धनाढ्यहरूको सूची 

१. बर्नार्ड आर्नो– २११ अर्ब डलर
२. एलन मस्क– १८० अर्ब डलर
३. जेफ बेजोस– ११४ अर्ब डलर
४. ल्यारी एलिसन– १०७ अर्ब डलर
५. वारेन बफेट– १०६ अर्ब डलर
६. बिल गेट्स– १०४ अर्ब डलर
७. माइकेल ब्लुमबर्ग– ९४.५ अर्ब डलर
८. कार्लोस स्लिम हेलु– ९३ अर्ब डलर
९. मुकेश अम्बानी– ८३.४ अर्ब डलर
१०.स्टिभ बाल्मर– ८०.७ अर्ब डलर