images

नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का बीचमा पार्टी एकता गर्ने निर्णय भएको छ ।

शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीका बीचमा एकता गर्ने निर्णय भएको जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा नेकपा मशालसँग पनि एकताको लागि वार्ता जारी रहेकोले निकट भविष्यमा यस मशालसँग पनि एकता हुने बताइएको छ । पार्टी एकताको आधारहरु माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले सबै क्रान्तिकारी कम्युनिष्ट र वामपन्थीहरु संगठित भएर तेस्रो जनआन्दोलनको घोषणा गर्नुपर्ने बताए । उनले सबै कम्युनिष्टहरुलाई एकता प्रक्रियाभन्दा बाहिर नबस्न आग्रह गरे । त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा(बहुमत)का संयोजक धर्मेन्द्र बास्तोलाले नेपालमा संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि आफूहरु एकतावद्ध हन लागेको बताए ।

पार्टी एकताको घोषणा भने आगामी अन्तर्राष्ट्रिय मजदुर दिवसको दिनमा गरिने जानकारी गराइएको छ ।