images

चीनको सेनाले ताइवान टापुलाई घेरा हाल्ने सैन्य अभ्यास थाल्यो

काठमाडौं । चीनको सेनाले तीन दिने सैन्य अभ्यासको क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ ।

ताइवानका राष्ट्रपति इङ वेनको अमेरिका भ्रमण र उच्चस्तरीय भेटवार्ताको विरोध स्वरुप चीनले ताइवान टापु घेरा हाल्ने सैन्य अभ्यास गरेको बीबीसीले जनाएको छ ।

चीनले ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणको परिणाम राम्रो नहुने चेतावनी पनि दिएको छ । ताइवानको रक्षा मन्त्रालयले ४२ वटा चिनियाँ सैन्य विमान र आठ वटा लडाकु पानी जहाजले चीन र ताइवान छुट्याउने मध्य रेखा पार गरेको जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै प्रान्त मान्दै आएको छ भने ताइवानले आफूलाई एक स्वतन्त्र देश दाबी गर्दै आएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले अहिले चलिरहेको सैन्य अभ्यासले ताइवान टापुलाई चीनले जुनसुकै बेला कब्जा गर्न सक्ने सामर्थ्य देखाउन खोजेको बताएका छन् ।

चिनियाँ सेनाले ताइवान वरपर लामो दूरीका रकेट, मिसाइल, लडाकु विमान, बमवर्षक लगायतका अत्याधुनिक हतियार तैनाथ गरेको छ ।