images

अडियो प्रकरणमा रास्वपाले माग्यो माफी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ ।

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले स्वाथ्यमन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आईतवार सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो ।

सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै माफी मागेका हुन् ।

उनले छानबिनका लागि समिति बनेको र आवश्यक कारबाही गरिने भन्दै सो घटनाले पार्टीलाई विचलित नबनाउने पनि उल्लेख गरे ।

प्रमुख सचेतक परियारले राष्ट्रिय स्वतन्त्र पार्टीले सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई आफ्नो प्रमुख अभियान ठान्ने पनि स्पष्ट पारे ।