images

श्रीलङ्काले चीनलाई एक लाख बाँदर बेच्ने

काठमाडौं । आर्थिकरूपमा सङ्कटग्रस्त श्रीलङ्काले चीनमा एक लाखसम्म लोपोन्मुख बाँदर निर्यात गर्नेबारे विचार गरिरहेको त्यहाँका कृषिमन्त्रीले बताएका छन् ।

लोपोन्मुख छोटो पुच्छर भएको बाँदर (टोक मकाक) श्रीलङ्कामा प्रशस्तरूपमा पाइने बाँदर हो तर यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) ले सङ्कटापन्न वन्य जन्तुको रूपमा वर्गीकृत गरेको छ । श्रीलङ्काले लगभग सबै जीवित जनावरहरूको निर्यातमा प्रतिबन्ध लगाएको छ ।

देश स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको यो एशियाली मुलुकले प्रस्तावित बिक्रीबाट कमजोर अर्थतन्त्रमा योगदान हुने बताएको छ । विक्रीको प्रस्ताव सार्वजनिक गरिए पनि बाँदरलाई कति मूल्य लिएर दिने भन्ने आर्थिक विवरण भने उपलब्ध गराइएको छैन ।

बाँदरले कृषिबालीलाई क्षति पु¥याउने र यिनिहरूको सङ्ख्या अत्यधिक भएका कारण श्रीलङ्कामा कृषकको शत्रुका रूपमा बाँदरलाई लिने गरिन्छ । तिनीहरूले अन्नको खोजीमा बालीनाली नष्ट गर्छन्, गाउँहरूमा आक्रमण गर्छन् र कहिलेकाहीं मानिसलाई समेत आक्रमण गर्छन् ।

श्रीलङ्काले यस वर्ष बाँदरका तीनवटै प्रजातिका साथै मयूर र जङ्गली बँदेललगायत थुप्रै प्रजातिलाई संरक्षित सूचीबाट हटाएको छ । श्रीलङ्काको पशु अधिकार समूह, ‘इन्भारोमेन्टल फाउन्डेसन’ले प्रस्तावित बिक्रीको आलोचना गर्दै ४० वर्षभन्दा बढी समयदेखि बाँदर मकाकको राष्ट्रव्यापी सर्वेक्षण नभएको र पहिले उचित जनसङ्ख्या अध्ययन गर्नुपर्ने बताएको छ ।