images

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

बुधबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ दोस्रो चरणमा प्रवेशपछि अन्जनको नाममा सहमति भएको थियो ।

पहिलो चरणबाट रामचन्द्र संघाईं बाहिरिएपछि आज २ बजेका लागि दोस्रो चरणको निर्वाचन तय भएको थियो । तर वरिष्ठ उपाध्यक्षमा सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन अपराह्न ४ बजेका लागि सारिएको थियो । 

पहिलो चरणमा वरिष्ठ उपाध्यक्षमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मतभार नकटाएपछि दोस्रो चरणको निर्वाचन हुने व्यवस्था थियो । 

महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्षमा चुनिएको उम्मेदवार तीन वर्षे कार्यकालपछि स्वतः अध्यक्ष हुने व्यवस्था छ ।