images

जनकपुर जयनगर रेल्वे सेवा दैनिक चारपटक सम्म सञ्चालन हुने

काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवत जावत हुने भएको छ ।

हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रवारदेखि दिनको चार पटक आवत जावत गर्दै सेवा बिस्तार गरेको हो ।

यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवत जावत गर्नेगरी सञ्चालनमा आउने भएको छ ।

रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ ।

यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास गरिएको छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो ।

महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनीलाई आग्रह गरिएको बताए । उनले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको पनि जानकारी दिए ।