images

मिथिलाञ्चलमा हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै

काठमाडौं । मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ ।

वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् । यसअघि परिवारका श्रेष्ठजनबाट बिहान हुनेबित्तिकै टाउकोमा पानी थापेर आशीर्वाद लिने परम्परा छ । 

होली पर्वमा रङ/अबिर दलेर खेले जस्तै यस पर्वमा एकअर्कालाई हिलोपानी दलिन्छ । जुडशीतल पर्वमा अघिल्लो वर्षको बासी खाना खाने परम्परा समेत छ । पहिले यो पर्वमा बिहान उठेर सम्पूर्ण गाउँवासी एकत्रित भएर एकअर्कामाथि हिलो, माटो, पानी र खरानी दलेर खेल्ने गर्दथे । अचेल यो परम्परा लोप हुँदै गइरहेको छ ।

मिथिलाञ्चलको जुडशीतललाई संरक्षण गर्ने उद्देश्यले विभिन्न संघसंस्थाको पहलमा जनकपुरधाममा मनाइँदै आएको छ ।

जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा सेभ हिस्टोरिकल जनकपुरधामको अगुवाईमा केही वर्ष यतादेखि जुडशीतल पर्वको आयोजना गर्ने गरिन्छ । पछिल्लो समय युवा पुस्तामा मिथिला क्षेत्रमा पनि जुड शितलको महत्व बिस्तारै कम हुँदै गरेको स्थानीयहरु बताउँछन् ।

शरीरमा हिलो र पानी हाल्नाले स्वास्थ्य लाभ हुने र छालाका रोगहरू नलाग्ने विश्वास छ । गर्मी याममा दादुराको प्रकोप बढ्ने गरेकाले शुद्ध माटो शरीरमा लगाउँदा यो रोग लाग्ने सम्भावना न्युन हुने गरेको विशेषज्ञहरु बताउँछन् ।