images

यस्तो छ वाममोर्चाको इतिहास

काठमाडौँ । समाजवादी मोर्चामात्र होइन यसअघि पनि पटक पटक वाममोर्चा गठन भएको इतिहास छ । तर यस्ता मोर्चाहरु वाम घटकहरुबीचको एकता भन्दा पनि समूह समूहबीच कित्ताकाटको जगमा उभिएको उदाहरण छ । २०४६ सालको वाममोर्चा होस या ८० सालको समाजवादी मोर्चा । यीनले सबै बामहरुलाई एक ठाउँमा ल्याउने भन्दा पनि कित्ताकाटको वातावरण सिर्जना गरेका छन । अहिले ४ दल समाजवादी मोर्चामा आबद्ध भइरहँदा एमाले लगायतका अन्य दलहरु भने आ आफ्ना कित्तामा रहेका छन ।

वि.सं. २०४६ सालअघि पञ्चायतका विरुद्ध लडिरहेका कम्युनिष्ट घटकहरु र नेपाली कांग्रेसले सहकार्यको आवश्यकता महसुश गरिरहेका थिए । तर कम्युनिष्टहरु दर्जनौँ घटकमा विभाजित भएकाले कोसँग कसरी सहकार्य गर्ने भन्ने अप्ठेरो स्थिति थियो । यसबीचमा २०४६ भदौमा तत्कालिन नेकपा मालेको चौथो महाधिवेशनले वाम घटक र नेपाली कांग्रेससँग समेत कार्यगत एकता गर्न सकिने नीति पारित गर्यो । संयुक्त वाममोर्चा वाममोर्चा गठन गर्ने निष्कर्षमा पुगेका घटकहरुबीच भैटघाट र बैठक बाक्लिन थाल्यो । वाम बुद्धिजिवी पद्यरत्न तुलाधरको निवासमा १२ वटा वाम समूहको वैठक बस्यो । तर वैचारिक प्रश्न र अन्य विविध कारण यी १२ वटै घटक एक ठाउँमा आउन सकेनन ।

२०४६ सालमा सात वाम समूहले तत्कालिन नेकपा माक्र्सवादीकी सहाना प्रधानको नेतृत्वमा संयुक्त वाममोर्चा गठन गरे । मोर्चामा मदन भण्डारी नेतृत्वको नेकपा माले, मनमोहन अधिकारी नेतृत्वको नेकपा माक्र्सवादी, तुलसीलाल अमात्य नेतृत्वको नेकपा अमात्य, विष्णुबहादुर मानन्धर नेतृत्वको नेकपा मानन्धर, कृष्णराज वर्मा नेतृत्वको नेकपा वर्मा, निर्मल लामा नेतृत्वको चौथो महाधिवेशन र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान संघ आबद्ध भए ।

                     संयुक्त वाममोर्चा

नेकपा माले                             मदन भण्डारी

नेकपा माक्र्सवादी                  मनमोहन अधिकारी

नेकपा अमात्य                         तुलसीलाल अमात्य

नेकपा मानन्धर                        विष्णुबहादुर मानन्धर

नेकपा वर्मा                              कृष्णराज वर्मा

नेकपा चौथो महाधिवेशन        निर्मल लामा

नेपाल मजदुर किसान संघ      नारायणमान बिजुक्छे

यतिबेला तत्कालिन नेकपा माले झापा विद्रोहको भावनाबाट च्युत हुन थालेको आरोप लाग्न थालेको थियो । तत्कालिन नेकपा मशालले सो भावना पक्रन थालेको थियो । यही प्रवृत्तिका केही घटकहरु नेकपा मालेसहितको संयुक्त वाममोर्चाको संसदवादी कार्यदिशा अपनाउन सहमत भएनन । तर अलग वाममोर्चा अनिवार्य जस्तै बनिसकेको थियो । वामपन्थी घटकहरुबीचको सैद्धान्तिक धु्रवीकरणले यसको आवश्यकता भइसकेको थियो । संयुक्त राष्ट्रिय जनआन्दोलन संयुक्त वाममोर्चामा ७ घटक आबद्ध भइसकेपछि बाँकी ५ घटकहरु पनि एउटा मोर्चामा आउने बाटोतिर गए ।

मोहन विक्रम सिंह नेतृत्वको पातलो मसाल, पुष्पकमल दाहाल नेतृत्वको मोटो मशाल, रुपलाल विश्वकर्मा नेतृत्वको सर्वहारावादी श्रमिक संगठन, नेपाल, कृष्णदास श्रेष्ठ नेतृत्वको नेकपा मालेमा र शम्भुराम श्रेष्ठ नेतृत्वको शम्भुराम समूह मिलेर संयुक्त राष्ट्रिय जनआन्दोलन नामको अलग वाममोर्चाको गठन गरेका थिए । यस मोर्चाले पातलो  मसालका डा. बाबुराम भट्टराईलाई प्रवक्ता तोकेको थियो । यस मोर्चाले नयाँ जनवादी व्यवस्थाको कार्यनीति लियो र तत्काल भने पञ्चायत विरोधी आन्दोलनमा सक्रिय रुपमा सहभागी भयो ।

                      संयुक्त राष्ट्रिय जनआन्दोलन

नेकपा मसाल                                       मोहन विक्रम सिंह

नेकपा मशाल                                       पुष्पकमल दाहाल प्रचण्ड

सर्वहारावादी श्रमिक संगठन, नेपाल       रुपलाल विश्वकर्मा

नेकपा मालेमा                                       कृष्णदास श्रेष्ठ

शम्भुराम समूह                                     शम्भुराम श्रेष्ठ

चरम विभाजनको प्रवृत्तिको उचाइमा पुगेका वाम घटकहरु यसरी पहिलो पटक वृहत मोर्चामा आवद्ध भएका थिए । यसले झण्डै ३० वर्षे निरंकुश पञ्चायती व्यवस्थालाई भत्काई बहुदलीय संसदीय व्यवस्थाको पुनस्र्थापनामा महत्वपूण भूमिका निर्वाह गर्यो । पञ्चायतको विरोधमा मात्र होइन संसदीय अभ्यासका क्रममा एक अर्काको उछितो काट्न समेत वामपन्थीहरुले मोर्चावन्दी गरेको इतिहास छ । एमाले फुटेर माले गठन भएपछि एक अर्कोलाई सिध्याउन यस्ता मोर्चाबन्दीको राम्रै प्रयोग गरेका थिए । यसक्रममा ६ देखि ९ वामसम्म आरोह अवरोहकाबीच एक ठाउँमा आएका थिए ।

२०५८ फागुन ४ मा माले एमालेबीच एकीकरण भएपछि भने नौ वाम संकटमा परेको देखिन्छ । सीपी मैनालीले पुनर्गठन गरेको नेकपा माले सहीत पाँच घटक एक ठाउँमा आएर संयुक्त वाम मोर्चा नेपाल गठन भयो । झण्डै एक दशकसम्म देखिएका यी मोर्चावन्दी औपचारिक रुपमा विघटन नगर्दै क्रमशः ओझेलमा पर्दै गएको देखिन्छ ।।