images

ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ अर्को वर्ष मे मा हुने

 

एजेन्सी । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोप्य कागजातहरूको कथित दुरुपयोग मुद्दामा २०२४ मे २० देखि सुनुवाइ हुने भएको छ । न्यायाधीश इलिन क्याननले अमेरिकी राष्ट्रपतिको चुनावअघि फैसला हुनेगरी सुनुवाइको मिति तय गरेका हुन् ।

सन् २०२४ नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदै छ । ट्रम्प निर्वाचनपछि मात्रै मुद्दा चलोस् भन्ने चाहन्थे, तर अभियोजनले निर्वाचनअघि नै मुद्दा चलाउन चाहेको थियो । ट्रम्पमाथि फ्लोरिडास्थित आफ्नो घरमा ह्वाइट हाउसका संवेदनशील फाइल राखेको गम्भीर आरोप छ ।

सरकारी वकिलहरूले पद छोडेपछि अवैध रूपमा गोप्य कागजातहरू राखेको र सरकारले फिर्ता लिन खोज्दा उनको काममा अवरोध गरेको अभियोजकहरूले आरोप लगाएका छन् । सन् २०२१ को जुलाईमा न्युजर्सीस्थित बेडमिनिस्टरस्थित गल्फ क्लबमा ट्रम्पले गोप्य दस्तावेजलाई अनधिकृत व्यक्तिसँग छलफल गरेको श्रव्य सामग्री मिडियामा सार्वजनिक समेत भएको थियो । तर त्यसमा सत्यता नभएको दावी ट्रम्पले गरेका थिए ।

विशेष वकिल ज्याक स्मिथले पदबाट हटेपछि गोप्य दस्तावेजको दुरुपयोग गरेको आरोपमा ट्रम्पमाथि ४९ पृष्ठ लामो अभियोग पत्रमा उक्त रेकर्डिङको ट्रान्सक्रिप्टको केही अंशलाई प्रमाणका रूपमा उद्धृत गरिएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानलाई खत्तम पार्न जानाजानी यस्तो प्रयास भइरहेको बताएका छन् । उनले आफू यस मामलामा निर्दोष भएको दावी गर्दै आएका छन् ।