images

शिवशिखर सहकारीविरुद्ध ८ सय १८ जनाको उजुरी

काठमाडौं । डोटीमा शिवशिखर सहकारीविरुद्ध ८ सय १८ जनाको उजुरी दिएका छन् ।सहकारीले आफूहरुलाई ठगेको भन्दै जिल्ला प्रहरी कार्यालय डोटीमा पिडितले उजुरी दिएका हुन् । दिपायलको पिपल्लामा शाखा कार्यालय रहेको सहकारीमा उजुरी दिएकाहरुले ६ करोड ४० लाख ६२ हजार नौँ सय ९० रुपैयाँ ठगिएको दाबी गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक युवराज भण्डारीका अनुसार उजुरी आउनेक्रम निरन्तर छ । अहिले उजुरी लिने काम मात्रै भएको र थप प्रकृयाका लागि पछि केन्द्रबाट आउने आदेश अनुसार हुने प्रहरीले जनाएको छ । प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका सहायक प्रहरी निरीक्षक धिरेन्द्र धामीका अनुसार अहिलेसम्म आएका उजुरीमा सबैभन्दा धेरै १२ लाख ४५ हजार ठगीएको उजुरी छ ।

भक्तुपरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका देशभर ३५ जिल्लामा शाखा रहेका छन् ।  बचतकर्ताको करोडौँ रकम हिनामिनाको आरोप लागेपछि फरार रहेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मा पक्राउ परीसकेका छन् ।