images

कम्बोडियाको आम निर्वाचनमा जित हासिल गरेको सीपीपीको दाबी

एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सत्तारुढ दल कम्बोडियाली पिपुल्स पार्टी सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको छ ।

सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गदैं सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेका बताएका छन् । मतदानको आधिकारिक परिणाम घोषणा हुन भने बाँकी छ । यो सीपीपीको लागि अर्को ठूलो सफलता भएको प्रवक्ता आइसानले उल्लेख गरेका छन् । यो जीतले वास्तवमा सीपीपीको नेतृत्वप्रति जनताको विश्वासलाई प्रतिबिम्बित गरेको भन्दै प्रवक्ता आइसानले खुसी व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक पाँच वर्षमा एक पटक हुने निर्वाचनमा १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए ।
राष्ट्रिय निर्वाचन समितिले आइतबार साँझसम्म पनि देशभर मतगणना जारी रहेको र आधिकारिक नतिजा अगस्ट ९ मा सार्वजनिक गरिने बताइएको छ ।

कम्बोडियामा आइतबार सम्पन्न निर्वाचन सन् १९९३ पछि सातौं निर्वाचन हो । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले राष्ट्रिय सभाका सबै १२५ सिट जितेको थियो ।