images

जापानी भाषाको पुस्तक मिन्ना नो निहोङ्गोको अनधिकृत विक्रि वितरण

नरेन्द्र महतारा , काठमाडौँ ।

जापानी भाषा परीक्षाका लागि उपयोगी पुस्तक मिन्ना नो निहोङ्गो भाग–१ र भाग–२ नेपालमा अनधिकृत रुपमा बिक्री बितरण भएको पाइएको छ ।

बजारमा विभिन्न पुस्तक पसलहरुले सो पुस्तक नक्कल बनाएर बिक्री गरिरहेको पाइएको हो । नेपालमा यस पुस्तकको आधिकारिक प्रकाशन तथा वितरण गर्ने अधिकार एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्युशन प्रालिलाई मात्र छ । एमआर पब्लिकेशनले जापानको थ्री ए कर्पोरेशनबाट नेपालमा प्रकाशन तथा वितरण गर्ने अधिकार लिएको हो । तर बिचौलियाहरुले यस किताबको नक्कल बनाई अनधिकृत रुपमा छपाई तथा विक्री वितरण गरिरहेका छन ।

एमआर पब्लिकेशनले २०७६ फागुनमा ५० हजार पुस्तक प्रकाशनमा ल्याएको थियो । उक्त किताब बजारमा कन्सल्टेन्सी, पब्लिकेशन, पुस्तक पसल र छापाखानाहरुले प्रतिलिपि अधिकार विपरित गैरकानूनी रुपमा आफूखुशी प्रकाशन गरी विक्रि वितरण गरेको देखिन्छ । एमआर पब्लिकेशन एण्ड डिस्ट्रिब्युशन प्रालिका निर्देशक निश्चित शाहीका अनुसार केही भाषा स्कुलहरुले समेत प्रतिलिपि अधिकारको ठाडो उल्लंघन गरिरहेका छन । “जापानी भाषा पढाउने जिम्मेवार स्कुलहरुले समेत नक्कल गरी अनधिकृत रुपमा पुस्तक विक्री वितरण गरिरहेका छन” । उनले भने ।

यो अपराधमा पुस्तक पसलहरुको संलग्नता समेत देखिएको छ । पब्लिकेशनका बजार प्रबन्धक रिजन शाही भन्छन् । “पुस्तक किनेपछि बिल माग्नुहोस, तीनले आनाकानी गर्छन” । बिलको साटो भिजिटिङ कार्ड दिने केहि पुस्तक पसलहरुको चरित्रले नै उनीहरुको नियत उदाङ्गो पारिदिएको शाहीको दावी छ । “विल दिनैपर्ने अवस्थामा केही पसलले नक्कली विल दिएर झारो टार्ने काम पनि गर्दै आएका छन ।” बजार प्रबन्धक शाही भन्छन ।

पब्लिकेशनले यसअघि पनि यस्तै गतिविधि बढेपछि केही व्यक्तिका विरुद्ध कानुनी प्रक्रिया अघि बढाएको थियो । नक्कली किताबहरु जापानमा नै छापिएको भन्दै भ्रामक सूचनाहरु सम्प्रेशण गरिएको छ । त्यसमा पनि कतिपयले त आफूखुसी मूल्य निर्धारण गरी विक्रि वितरण गरिरहेका छन । यसरी बिक्री, वितरण वितरणले प्रकाशनलाई मात्र घाटा पुर्याएको छैन, राज्य समेत करमा ठगिएको छ । राज्यलाई तिर्नुपर्ने कर छली गरेर व्यक्ति र संस्था मोटाउने काम भइरहेको छ । 

नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका अनुसार प्रतिलिपि अधिकार ऐन– २०५९ ले संरक्षित अधिकार उल्लंघन गरेमा दण्ड सजायको स्पष्ट व्यवस्था छ । ऐनको दफा २७ को उपदफा १ मा ‘कसैले संरक्षित अधिकार उल्लंघन गरेमा त्यस्तो उल्लंघन गर्ने व्यक्तिलाई कसुरको मात्रा अनुसार दश हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा छ महिनासम्म कैद वा दुबै सजाय हुनेछ र दोस्रोपटक देखि पटकैपिच्छे बीस हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुबै सजाय हुनेछ ।’-भनेको छ ।

रजिष्ट्रार कार्यालयकी सूचना अधिकारी प्रमिला तामाङका अनुसार अनधिकृत रुपमा प्रकाशन वा पुनर्उत्पादन गरेको वा वितरण गरेको पाइए पुनर्उत्पादन गर्न प्रयोग गरिएका सामग्रीहरु जफत हुने स्पष्ट व्यवस्था गरिएको छ । “उपदफा २ मा संरक्षित अधिकारको उल्लंघन गर्ने व्यक्तिबाट प्रतिलिपि अधिकार प्राप्त व्यक्तिलाई परेको नोक्सानीको क्षतिपूर्ति समेत भराई दिनुपर्ने व्यवस्था छ ।” उनले भनिन । 

जापानी भाषा परीक्षाका लागि उपयोगी पुस्तक मिन्ना नो निहोङ्गो भाग–१ र भाग–२ को नेपालका लागि आधिकारिक प्रकाशक तथा वितरक एमआर पब्लिकेशन एण्ड डिष्ट्रिब्युशन प्रा.लीले अनधिकृत विक्रि वितरण नरोकिए कानूनी उपचारमा जाने तयारी गरेको छ ।