images

भ्रष्टाचारका थप फाइल छिटै खुल्ने प्रधानमन्त्री प्रचण्डको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका थप फाइल खुल्दै जाने दाबी गर्नुभएको छ ।

आइतबार काठमाडौंमा समाजवादी मोर्चासम्बद्ध विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टाचारविरुद्ध अभियानमा लागेको र यो नरोकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारविरुद्धको अभियानमा अहिले नागरिक तहबाट पाएको साथले सरकारको मनोबल बलियो भएकाले थप फाइल छिटै खुल्ने बताएका हुन् ।

युवा तहबाट सरकारले अभियानमा समर्थन पाएको भन्दै प्रधानमन्त्री प्रचण्डले आउने दिनमा अरू फाइल खुल्दै जाने उल्लेख गरे । सरकारले भ्रष्टाचारका फाइल खुलाउँदै जाँदा विभिन्न ठाउँबाट अवरोध आइरहेकाले सरकारलाई समर्थन र साथ आवश्यक रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

आमनागरिकले साथ नदिइकन भ्रष्टाचारविरुद्धको यो लडाइँ सरकार एक्लैले जित्न नसक्ने भन्दै उनले सरकारले लिएको लक्ष्यमा विजयी हुने गरेर साथ दिन आग्रह समेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार नेपालको वाम लोकतान्त्रिक आन्दोलनको मर्म र भावनाअनुरूप बदलिएको व्यवस्थाअनुसार नागरिकको अवस्था बदल्न र सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित गुणात्मक सुधारका पक्षमा क्रियाशील भइरहेको दाबी गरे ।