images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ ।

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा विहान ११ बजे सुरु हुने बैठकमा ३ सय ८५ केन्द्रीय सदस्य, १ सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय पदाधिकारी तथा विभिन्न आयोगका ७५ जना गरी ७ सय ५८ जना सहभागी हुने पार्टीले जनाएको छ ।

बैठकमा महासचिव देवप्रसाद गुरुङले बैठकको एजेन्डा तथा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ ।

पाँच दिनसम्म चल्ने बैठकमा सबै केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमा धारणा राख्न पाउनेछन् । बैठकको प्रत्यक्ष प्रसारण अध्यक्ष दाहालको फेसबुक पेजबाट गर्ने निर्णय गरेको पदाधिकारी बैठकले गरेको छ ।

यो निर्णयप्रति कतिपय केन्द्रीय सदस्यहरूले आपत्ति जनाएपछि आज बिहान बस्ने स्थायी समिति बैठकले अन्तिम निर्णय लिने पार्टीले जनाएको छ । १३ महिनापछि बस्न लागेको बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँट, सङ्गठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विधान तथा विशेष महाधिवेशन, सरकार र सदनलगायत विषयमा छलफल हुने जनाइएको छ ।