images

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि बस्दैछ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको बैठकमा हिजो अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको संक्षिप्त प्रतिवेदनमाथि १८ नेताले आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।

ती नेताले पार्टीको पुननिर्माण, कार्यशैली, सङ्गठनको प्रभावकारिता र सरकारका कामकारबाहीका बारेमा धारणा राखेका हुन् ।

अध्यक्षले राखेको प्रस्तावमाथि धारणा राख्न चाहेका नेतालाई नाम टिपाएका आधारमा पालैपालो बोल्न दिइएको थियो । केन्द्रीय समितिमा समावेशी चरित्र देखाउन तथा केही वरिष्ठ नेतालाई सहभागी गराउन विधान संशोधन गर्नुपरेको माओवादीले जनाएको छ । प्रस्तावमा मौजुदा केन्द्रीय समितिलाई चार सय नौ सदस्यीय बनाउने उल्लेख छ ।

अहिले माओवादीको केन्द्रीय समिति तीन सय ८७ सदस्यीय छ ।

माओवादी केन्द्रले केन्द्रीय समितिमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नेगरी विधान संशोधन प्रस्ताव गरेको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

माओवादीमा एक सय ९९ वैकल्पिक केन्द्रीय सदस्य छन् । बैठकमा तीन सय ८७ पूर्ण र एक सय ९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।