images

सीप सिक्दै विदेशिदै युवा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाका लागि पेसागत सीप अनिवार्य गरिएसँगै दक्ष भएर विदेश जाने युवाको संख्या क्रमशः बढेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा दक्ष भएर जानेको संख्या ३१ प्रतिशतले बढेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जान पाँच लाख आठ हजार ८२७ जनाले श्रम स्वीकृति लिएकामम ३५ प्रतिशत दक्ष रहेको पाइएको छ । आर्थिक वर्ष २०७९/८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकामा दक्ष जनशक्तिको संख्या पाँच लाख छ हजार ७४६ जना रहेको छ ।

यो संख्या हेर्दा आर्थिक वर्ष २०७८/७९ मा भन्दा आव २०७९/८० मा १९ प्रतिशत बढेको देखिन्छ । दुई वर्षको तथ्याङ्कबाट पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको पुष्टि गर्छ । यस्तै आव २०७८/७९ मा छ लाख ३० हजार ९० जनाले श्रम स्वीकृति लिएर विदेश गएकामा दुई लाख ९१ हजार ८८९ जना दक्ष जनशक्ति थिए भने आव २०७७/७८ मा एक लाख ६६ हजार ६९८ जनाले श्रम स्वीकृति लिएकामा ७० हजार ४२६ (४२ प्रतिशत) जना दक्ष रहेका छन् ।

सो अवधिमा उच्च सीपयुक्त (इन्जिनियर, चिकित्सक, व्यवस्थापक) मा काम गर्न जानेको संख्या एक हजार ४१० जना रहेको छ ।