images

मकवानपुरमा पहिरोमा बेपत्ता भएका थप दुई जनाको शव फेला

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये थप दुई जनाको शव फेला परेको छ ।

हिजो बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ कोकरेस्थित बागमती नदीको बीच बगरमा फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव फेला परेको हो । योसँगै उक्त पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

यस्तै उक्त पहिरोमा परेर तीन जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा मृतक अक्कलबहादुरका ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीया दिव्या पहरी छन् । पहिरोमा परेकामध्ये अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमायाको भने मङ्गलबार नै मृत्यु भएको थियो ।

यस्तै निरन्तरको बर्षाका कारण कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । बाढीको उच्च जोखिममा रहँदै आएको सो नगरपालिका जलमग्न हुँदा त्यहाँका हजार भन्दा बढी नगरवासी प्रभावित भएका छन् ।