images
images

चितवनमा डेंगुको सङ्क्रमण बढ्दै

काठमाडौं । चितवनमा डेंगुको सङ्क्रमण बढ्दै गएको छ । गत साउन १ देखि यही भदौ १ गते दिउँसो सम्ममा एक सय आठ जनामा डेंगुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार एक हजार एक सय ६४ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेंगुको सङ्क्रमण देखिएको हो । कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

सङ्क्रमितमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । सङ्क्रमितहरुमा चितवनका ६०, बाहिरी जिल्लाका ३७ र ठेगाना नखुलेका ११ जना रहेका छन् ।

डेङ्गु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो रोगको सङ्क्रमण देखिएका बिरामीमा टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । यस्तै शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेका दाग देखापर्ने, बेहोस हुने आदि लक्षण पनि देखापर्ने केसीले जानकारी दिए ।

यो रोगबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै भएको उनले बताए । लामखुट्टे पानीमा बस्ने भएकाले घरको वरपर वा पानी जम्ने ठाउँ जस्तैः गमला, फूलदानी, खाली बट्टा, अलकत्रा वा मट्टीतेलका खाली ड्रम, गाडीका काम नलाग्ने टायर आदिमा पानी जम्न नदिनु, बाहिर वा लामखुट्टेले टोक्ने ठाउँमा निस्कँदा शरीर ढाकिने लुगा लगाउनुपर्ने र सुत्दा अनिवार्य झूलको प्रयोग गर्नुपर्छ । साना केटाकेटीलाई जुनसुकै समयमा पनि झूलभित्र सुताउनुपर्ने उनको सुझाव छ ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS