images

३१ औं प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतरूपमा अनुमोदन गरेको छ ।

आज बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

श्रेष्ठले संसदीय सुनुवाइ समितिसमक्ष न्यायपालिका सुधारका लागि आफ्नो कार्ययोजनासहित धारणा व्यक्त गरेका थिए । उनले न्याय सम्पादनलाई चुस्त र व्यवस्थित बनाउनको लागि १८ पन्ने योजना पेश गरेका थिए ।

अब समितिले श्रेष्ठ अनुमोदित भएको ब्यहोराको पत्र संवैधानिक परिषद्मा लेखेर पठाउनेछ । गत साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

अनुमोदन भएसँगै श्रेष्ठ करिब १४ महिना प्रधानन्यायाधीशका रुपमा रहनेछन् । २०१६ असोज २० गते जन्मिएका श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण २०८१ असोज १९ पछि अनिवार्य अवकाशमा जानेछन् ।

३१ औं प्रधानन्यायाधीशका रुपमा अनुमोदित भएका श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुगेका व्यक्ति हुन् ।