images

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प २ लाख डलरको जमानतमा रिहा

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जमानतमा रिहा भएका छन् । जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी केहीबेरमै २ लाख डलरको जमानतमा रिहा भएका बीबीसीले जनाएको छ ।

फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको थियो । त्यहाँ उनको औँठाछाप लिइएको र मगशट (अनुहारको तस्बिर) भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिचिएको थियो । लगत्तै त्यो फोटो सार्वजनिक गरियो थियो । फोटो खिचिसकेपछि उनी २ लाख डलरको जमानतमा रिहा भएका खबरमा उल्लेख छ ।

अमेरिकामा यस्तो मगशट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति बनेका छन् । सन् २०२० को राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् । तर, उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् ।

फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ता गरिएको छ । ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।