images

क्रिकेटर लामिछाने विरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आइतबार पनि सुनुवाइ हुन सकेन ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो । बलात्कारको घटनाको साक्षी प्रमाणमा केन्द्रित भई न्याय निरुपण हुनुपर्ने मुद्दा पीडितको र उनको आमाको जन्म मितिको विवादसम्म पुगेको छ ।

सन्दीप लामिछानेले पीडितको जन्ममितिको शंकास्पद कागजात पेस गरेका थिए । सम्बन्धित निकायमा त्यो कागजात नभेटिएपछि गत सोमबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सन्दीपलाई कागज गराई सम्बन्धित निकायबाट प्रमाणित विवरण मगाउनु भनी आदेश गरेका थिए ।

अदालतको यो मुद्दामा अर्को पेसी २१ भदौका लागि तोकेको छ । सुनुवाइ स्थगित भएपछि लामिछाने एसिया कप खेल्न सोमबार पाकिस्तान जाने भएका छन् । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालको पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते रहेको छ । अर्को पेशीमा उपस्थित हुनुपूर्व सन्दीपले यी दुई म्याच खेल्न भ्याउनेछन् ।