images

भेपमार्फत सुन तस्करी प्रकरणमा महराका छोरा राहुल पक्राउ

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् ।

विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी भएको प्रकरणमा अनुसन्धानका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नियन्त्रणमा लिएको हो । गत वर्ष भेपमा लुकाएर भएको ९ किलो सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ ब्यापारी दावासँग राहुलले पटक–पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

तस्करीमा संलग्न ब्यापारीसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको पटक–पटक टेलिफोन सम्पर्क भएको खुले पनि उनीहरुमाथि अनुसन्धान नभएको भन्दै सार्वजनिक रुपमा विरोध भइरहेको थियो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले भेपभित्र लुकाएर करिब ९ केजी सुन ल्याएको थियो ।

जाँचपासका क्रममा भेप शंकास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो । भेप जफतपछि अत्तालिएको गिरोहले पूर्वसभामुख महरा र छोरा राहुलमार्फत सामान छुटाउन दबाब दिएको थियो । महरालाई सीआईबीले बुधबार नै जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको छ ।

महरालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीमाथि संगठित अपराधमा अनुसन्धान हुने सीआईबीले जनाएको छ ।