images

कोशी सरकार विरुद्धको रिटउपर अन्तिम सुनुवाइ आज नहुने

काठमाडौं । कोशी प्रदेश सरकार विरुद्धको रिटउपर अन्तिम सुनुवाइ आज नहुने भएको छ ।

सो रिट आज शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको थियो । तर ईश्वरप्रसाद खतिवडाले हेर्न नमानेपछि सुनुवाइ सरेको हो । यसअघि प्रारम्भिक सुनुवाइमा पनि खतिवडा रहेकाले आफू पूर्णसुनुवाइमा रहेर उक्त रिट हेर्न नहुने निर्णयमा उनी पुगेका थिए ।

सभा चलाइरहेका इस्राइल मन्सुरीको मत लिएर मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।

भदौ ६ गते प्रारम्भिक सुनुवाइको क्रममा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सर्वोच्चले सभाध्यक्षको मत संविधानसम्मत् नभएको भनेको थियो । सँगै दीर्घकालीन प्रभाव पर्ने काम र निर्णय नगर्न अन्तरिम आदेश जारी गरिएको थियो ।

आज खतिवडाकै इजलासमा परेकाले मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको हो ।