images

बहराईनमाथि नेपालको सानदार जित

काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित दर्ता गरेको छ ।

मलेसियाको सिलोंग्र ट्रफमा शुक्रबार लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो । बहराइनले दिएको ३२ रनको लक्ष्य नेपालले २ दशमलब ५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

नेपालको जितमा ओपनर कबिता कुवरले १४ बलमा १८ रन बनाईन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाईन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।

बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिईन् । पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १/१ विकेट लिईन् । नेपालले तेस्रो खेलमा १७ गते भुटानसँग र चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतियोगिताको २१ गते सेमिफाइनल खेल रहेको छ । २२ गते प्रतियोगिताको फाइनल खेल रहेको छ । प्रतियोगितामा ११ राष्ट्रको सहभागीता रहेको छ । सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह बी मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–ट्वान्टी क्वालिफायर खेल्न पाउनेछन् ।