images

एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले एमसीसी र बीआरआईबाट नेपालले देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अमेरिकाको आर्थिक सहयोग परियोजना (एमसीसी) र चीनको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’(बीआरआई) बाट देशको हित हुनेगरी लाभ लिन सक्नुपर्ने उल्लेख गरे । उनले सरकारले राष्ट्रियतालाई पहिलो प्राथमकिता दिँदै यी मुलुकबाट हुने फाइदा कसरी धेरै लिने रु भन्नेबारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

उनले एमसीसीको बारेमा धेरै चर्चाहरु चलिरहेको र बीआरआईको बारेमा पनि जनतालाई बुझाएर राष्ट्र र जनतको हीतमा प्रयोग गर्न आग्रह गरे । उनले भौगोलिक विकटाका बावजुत पनि उत्तरी नाकाबाट रेल सञ्चालन गर्न सकिने, चीनको मार्ग भएर देशका उत्पादन निर्यात गर्न सकिने बताए । उनले नेपालले वाह्य ऋणबाट मुक्त गर्नुपर्ने बताए । सभामुख घिमिरेले राजनीति बाटोबाट देशलाई सम्पन्न बनाउन सकिने भन्दै यसका लागि सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताए ।

सभामुख घिमिरेले दुई ठूला देशबाट नेपालले फाइदा उठाएर अघि बढ्न जरुरी रहेको बताए । उनले पञ्चायती व्यवस्थालाई अन्त्य गरी अहिलेको लोकतान्त्रिक, संघीय सभावेशी संविधान ल्याएको र संविधानले परिकल्पना गरेको समाजवादी आधार निर्माण गर्ने उद्देश्यका साथ काम गरिरहेको बताए । उनले उत्पादनमा वृद्धि गरी देशको अर्थ व्यवस्था उच्च बनाउनुपर्ने बताए ।