images

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न अठोट लिएको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई छिट्टै समाधान गर्ने अठोट व्यक्त गरेका छन् ।

विश्व मानसिक स्वास्थ्य दिवस र सेतोकोट दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्याले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याको तत्काल समाधान खोज्ने बताए ।उनले भने, “स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने अठोट लिएको छु । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग मिलेर काम गरिनेछ ।”

विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा सबै नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै प्रधानमन्त्री दाहालले मानसिक स्वास्थ्य सेवालाई विस्तारका लागि पहलकदमी भइरहेको जानकारी दिए । उनले स्वास्थ्यमन्त्रीको नेतृत्वमा महत्वपूर्ण सुधारका काम भएको भन्दै प्रशंसासमेत गरे ।

प्रधानमन्त्री दाहालले सो अवसरमा स्वास्थ्य क्षेत्र सुधार तथा समस्या समाधानका लागि काम गरिरहनुभएका स्वास्थ्यमन्त्री, पदाधिकारी र स्वास्थ्य क्षेत्रमा कार्यरत स्थास्थ्यकर्मी सबैलाई धन्यवाद दिए ।

सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मानसिक रोगको बढदो चुनौतीलाई सामना गर्दै गुणस्तरीय उपचारमा सबैको पहुँच पुर्याउन सरकारले पहल गरिरहेको बताए । मन्त्री बस्नेतले अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा कर्मचारीको दरबन्दी सिर्जना गर्ने, स्वास्थ्य उपकरणको व्यवस्थापन र सरकारी अस्पतालमा सेवा सुधार गर्ने प्रतिबद्धता गरे ।

कार्यक्रममा मानसिक स्वास्थ्यसँगै समग्र स्वास्थ्य क्षेत्र सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका विभिन्न चिकित्सक, स्वास्थ्यकर्मी, प्रादेशिक अस्पताल, स्थानीय निकाय, गैरसरकारी संस्था र व्यक्तित्वहरुलाई मन्त्रालयले सम्मान गरेको थियो।रासस