images

कानमा पसेको वस्तु कति समयभित्र निकाल्नुपर्छ ? ढिलो गर्दा कस्ता जोखिम हुन्छन् ?

काठमाडौं । खेलीरहेका बालबालिकाको कानमा फोहोर पस्न सक्छ । फोहोरको प्रकृति अनुसार सामान्य वा सहन नसक्ने पीडा पनि हुन सक्छ । लामो समयसम्म कानमा पसेको वस्तुले पीडा मात्र नभई कानमा असर समेत गर्न सक्छ ।

बच्चाको कानमा मकै, चना, केराउ, चामल, फलाम वा धातुको टुक्रा खेल्दाखेल्दै पर्न सक्छ । त्यस्तै, वयस्क समूहको कानमा भने लामखुट्टे, साङ्ला, कमिला पस्न सक्छ । कहिलेकाहीं कान चिलाउँदा कान कोट्याउन सलाईको काँटी, सिन्का, एयरबडको कपास पनि कानभित्र पस्न सक्छन् । यस्तो बेलामा सम्भव भएसम्म चिकित्सकको निगरानीमा कानमा पसेको वस्तु निकाल्नुपर्छ । कुन वस्तु कसरी निकाल्नुपर्छ भन्ने कुराको अनुभव र अध्ययन चिकित्सकलाई सबैभन्दा धेरै हुन्छ ।

कानमा पसेको वस्तु विभिन्न थरीका साधनबाट निकालिन्छ । कागजको टुक्रालाई निकाल्न चिकित्सकले फोरसेपको प्रयोग गर्छन् भने कानमा कीरा पसे तेल हालेर मारेर मात्र निकालिन्छ ।

गेडागुडी अड्किए पानी र सुई हालेर निकालिन्छ । फलामजस्ता धातुलाई भने सहजै निकाल्न कठिन हुन्छ । त्यसलाई निकाल्न लोकल एनेस्थियामार्फत सुई दिएर फोरसेप वा हुपबाट निकाल्नुपर्ने हुन्छ । कहिलेकाहीं ठूलो वस्तु पस्दा सुई र फोरसेपले पनि निकाल्न नसकिने अवस्था हुन्छ । त्यस्तोमा कानको पछाडिको भागको शल्यक्रिया गरेरै निकाल्नुपर्छ ।

कानमा केही पस्नेबित्तिकै सम्भव भएसम्म छिटो निकाल्नुपर्छ । कानमा केही पसेको छ तर तत्काल अस्पताल पुग्न सम्भव छैन भने सावधानीपूर्वक आफैंले पनि निकाल्न सकिन्छ । यस्तोमा कानलाई भुईंतिर झुकाएर, हल्लाएर ट्वीचरले बाहिर निकाल्न सकिन्छ । तर औंला भने कानमा हाल्नुहुँदैन ।

यदि कुनै वस्तु देख्न सकिंदैन भने ट्वीचर प्रयोग गर्नुहुँदैन । ट्वीचरको प्रयोग गर्दा कानको जाली फुटेर कानबाट रगत बग्न सक्छ, जसले गहिरो दुखाइ र श्रवणशक्ति गुम्न पनि सक्छ । जथाभावी आफैं निकाल्न खोज्दा कानको जालीमा घाउ हुने, अड्किएको वस्तु झन भित्र पस्ने हुन सक्छ । जस्तै, गेडागुडी पस्दा पानी वा तेलमा हाल्दा फुल्ने र आकार ठूलो भई निकाल्न सकिंदैन ।

धेरैको बानी दुखाइ भए पनि सहेरै बस्ने हुन्छ । फलस्वरुप कानभित्र कुनै वस्तु पसेर निकाल्दा भित्रै कुहिने, कान पाक्ने, दुखाइ बढ्ने, रगत आउने र कानको जाली नै फुट्ने सम्भावना रहन्छ ।