images

जुरिखेतमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कुलेखानी-हेटौंडा सडकखण्ड अन्तर्गत जुरिखेतको ओरालोमा भएको दुर्घटनामा एउटै स्कुटरमा यात्रा गरिरहेका श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको ०२–०२७–प ४८४२ नम्बरको स्कुटर बुधबार साँझ दुर्घटना हुँदा स्कुटरको पछाडि सवार काठमाडौं–२७ महाबौद्ध निवासी ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो । स्कुटर सडकबाट १०० मिटर तल खसेको थियोे ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकी राज्यश्रीको उपचारको क्रममा बुधबार बेलुकी ७ः३० बजे हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

उनका पति स्कुटर चालक ६५ वर्षीय शशीराज पाण्डे घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।