images

प्राधिकरणले काट्यो केन्द्रीय कारागारको बिजुली, ‘कैदीबन्दी भाग्ने जोखिम बढ्यो’


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले केन्द्रीय कारागार,सुन्धाराको विद्युत् लाइन काटिदिएको छ ।

लामो समयदेखि तिर्नुपर्ने बक्यौता नतिरेको भन्दै मंगलबार प्राधिकरणका कर्मचारीले बिजुलीको लाइन काटिदिएका हुन् ।

कारागारका अधिकारीहरु भने कारागारजस्तो संवेदनशील ठाउँमा बिजुली कटौती हुँदा रातको समयमा कुनै घटना घट्न सक्ने चिन्तामा छन् ।

कारागारजस्तो संवेदनशिल ठाउँको बिजुली काट्दा विद्युत प्राधिकरणले एकपटक समन्वय गर्नुपर्ने उनीहरुको भनाइ छ ।

कारागारले जनाए अनुसार केन्द्रीय कारागारको नाममा डेढ करोड रुपैयाँ वक्यौता थियो । १५ दिनजति अघि ३७ लाख रुपैयाँ तिरेपनि थप पैसा तिर्न बजेट नहुँदा समस्या भएको थियो ।

केन्द्रीय कारागारको सबै ब्लकमा गरेर अहिले ३५ सय भन्दा बढी कैदीबन्दी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि सुनकाण्डका कैदीहरु पनि केन्द्रीय कारागारमै रहेका छन् ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिरेका ग्राहकको लाइन काट्ने अभियान नै चलाएको छ ।